९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

एमालेले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने



पोखरा । नेकपा (एमाले) ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए ।

“एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ”, उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य दलहरूसँग एमालले संवाद सुरु गर्छ ।”

एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उनको भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका छन् ।

गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरू मन्त्रीको जिम्मेवारीमा पुगेका हुन् ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  १२ : १५ बजे