८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

ललितपुर महानगर प्रमुख र रुसका राजदूतबिच भेटवार्ता



पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबिच आज यहाँ भेटवार्ता भएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबिच भेटवार्ता भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगर र रुसको सहरबिच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबिच प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुने बताए । “असल अभ्यासहरु आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्वपूर्ण हुनेछ, यसअघि पनि ललितपुर महानगरले कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ, जसबाट कृषि क्षेत्रमा ललितपुरलाई चेओरन सहरले सहयोग गर्दै आएको छ”, उनले भने ।

भेटवार्ताका क्रममा नगरप्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे राजदूत नोबीकोबलाई जानकारी गराएका थिए । भेटवार्तामा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवम् वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : २५ बजे