काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन ,खाद्य व्यवस्था तथा व्यापार कम्पनी, र दुग्ध विकास संस्थान (डीडीसी) ले ३० भदौदेखि देशभरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताले लाइन लागेरै सामान खरिद गरिरहेका छन् । दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सामान्य उपभोक्तालाई मूल्यवृद्धिको चिन्ताले सताउने समयमा यस्ता पसलहरु सहारा बनेका छन् । आइतबार साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले सञ्चालन गरेको सुपथ मूल्य पसल सामान खरिद गर्न आएका नैकापका दिपेश सुबेदीले बाहिर बजार मूल्य भन्दा सुपथ मुल्यमा दैनिक उपभोग्य बस्तुमा छुट दिइएकाले खरिद गर्न आएको बताउँछन् । उनी भन्छन्, “चाडबाडमा बाहिर दैनिक उपभोग्य वस्तु किन्दा चर्को मूल्य तिर्नुपर्छ । यहाँ किन्दा धेरै नै राहत मिल्छ, चिनी बजारमा १ सय १० रुपँयाको मूल्य सुचि राखिएको छ । यहाँ भने प्रतिकिलो ९५ रुपँयामा मूल्यसुची राखिएको छ,त्यस्तै अन्य दैनिक प्रयोग हुने सामानहरुमा पनि चर्को मुख्यमा बिक्रि भइरहेको छ ।”
साल्ट ट्रेडिङ ल्याएको दसैं लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको निकै भिड लागेको देख्न सकिन्छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा मात्र हालसम्म करिब १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको जनाएको छ।
सुपथ मूल्य पसलले बजारमा कृत्रिम मूल्यवृद्धि (कालोबजारी) नियन्त्रणमा सहयोग पुगेको कर्पोरेसनका दाबी गरेको छ। बजारमा उपभोक्ता ठगिन नदिन र मूल्यलाई स्थिर राख्न यस्ता पसल प्रभावकारी भएको कम्पनीको दाबी छ।
नेपाली इस्यूका सम्पादक पुस्पा शर्माले कम्पनीका बजार प्रबन्धक प्रज्ज्वल प्रधानसंग गरेको ६ प्रश्नको सम्पादित अंश
प्रश्न–१ यसपालि साल्ट ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य निकै भिड देखियो बिक्रि कक्ष कति ठाउँमा सञ्चालनमा छ ?
यसपालि १७ वटा बिक्री कक्ष सञ्चालनमा छ। उपत्यका भित्र काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल लगायत १४ शाखा छन्। उपत्यका बाहिर धनगढी, नारायणघाट नुवाकोटमा पनि सुपथ पसल सञ्चालनमा ल्याएका छौं।
प्रश्न–२ हालसम्म कति कारोबार भइसकेको छ ?
हालसम्म करिब १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। उपभोक्ताको भीड र माग दुवै बढिरहेको छ।
प्रश्न–३ उपभोक्ताले कुन–कुन सामग्रीमा कस्तो छुट पाएका छन् ?
नुनमा प्रतिकिलो २ रुपैयाँ छुट छ, जसमा ६ किलोसम्म पाउन सकिन्छ। चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट छ। दाल, आटा र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ। लेनग्रेन चामलमा त बजार मूल्यभन्दा १५ रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ। तेलमा प्रतिलिटर ५ देखि ७ रुपैयाँसम्मको छुट दिइएको छ ।
प्रश्न–४ सुपथ मूल्य पसल कति दिन सञ्चालनमा रहनेछ ?
दशैं र तिहारसँगै छठ पर्वसम्म सुपथ मूल्य पसल निरन्तर सञ्चालनमा रहनेछ।
प्रश्न–५ बजारमा देखिएको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणमा सुपथ पसलले कस्तो भूमिका खेलेको छ ?
हामीले सञ्चालन गरेका सुपथ पसलले बजारमा हस्तक्षेप गरेको छ। यसले कृत्रिम मूल्यवृद्धि रोक्न सहयोग गरेको छ। उपभोक्तालाई राहत दिने मात्र होइन, ठगिनबाट पनि जोगाउने प्रयास गरेका छौं।
प्रश्न–६ उपभोक्ताले कस्तो प्रतिक्रिया दिएका छन् ?
उपभोक्ताबाट पाएको प्रतिक्रिया सकारात्मक छ। बजारमा बढ्दो महँगीकाबीच सुपथ मूल्य पसलले चाडबाडमा ठूलो राहत दिएको भन्दै उनीहरूले निरन्तरता दिनुपर्ने अपेक्षा राखेका छन्।





