काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केही दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यसअघि निर्धारित समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता हुने गरी कार्यतालिका परिमार्जन गर्न लागिएको हो ।
शनिबार (पुस १२) पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरी व्याहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिए ।
बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिकाअनुसार काम हुन नसकेको बताए । तोकिएको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता हुने गरी अब कार्यतालिका परिमार्जन गर्न लागिएको उनले जानकारी दिए ।
यही पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुंगिन नसकेको उनले उल्लेख गरे । यस्तो अवस्थामा अरू कार्यतालिका प्रभावित हुने उनले बताए । त्यसैले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको उनले जानकारी दिए ।
वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यको जोड रहेको उनले सुनाए ।





