काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।
राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल आइतबार ९पुस १३० हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
यसको साँवा र ब्याज भुक्तानी भने यही पुस २५ गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । ३ दिन अघि पनि राष्ट्र बैंकले पुस ९ गते १६ दिनका लागि २५ अर्ब रुपैयाँ तरलता बजारबाट खिचेको थियो ।





