बागलुङ । यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो ।
पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तलाखेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए । बसाइँसराइले रित्तिदै गएका गाउँमा समेत राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।





