२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

हुम्लामा सद्भाव बैठक : चुनावी संस्कार सुधारतर्फ सकारात्मक पहल



काठमाडौँ । हुम्लामा नेपाली कांग्रेसले शुरू गरेको सद्भाव बैठकले चुनावी राजनीतिमा नयाँ सन्देश दिएको छ। आरोप–प्रत्यारोप र व्यक्तिकेन्द्रित विवादले ग्रस्त नेपाली चुनावी संस्कारबीच प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर स्वच्छ र मर्यादित प्रतिस्पर्धाको आह्वान गर्नु सकारात्मक कदमका रूपमा हेरिएको छ।

दुर्गम र विकासमा पछाडि परेको हुम्लामा व्यक्तिगत जीत–हारभन्दा माथि उठेर साझा समस्या र समाधानमा केन्द्रित बहस आवश्यक रहेको सन्देश बैठकमार्फत दिइएको छ। गरिबी, दुर्गमता, विकास र युवाको भविष्यजस्ता मुद्दा सबै दलका साझा सरोकार भएकोमा सहभागीहरूले जोड दिएका छन्।

यद्यपि, सद्भावको प्रतिबद्धता कार्यक्रममै सीमित नहुने र प्रचार, भाषण तथा व्यवहारमा पनि देखिनुपर्ने सरोकार उठाइएको छ। भ्रामक सूचना, उत्तेजक अभिव्यक्ति र विभाजनकारी राजनीति रोक्न सबै दल जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायाको पहलमा सम्पन्न यो बैठकले सभ्य प्रतिस्पर्धा सम्भव छ भन्ने सन्देश दिएको छ। यसले निरन्तरता पाए हुम्लाबाट सुरु भएको सद्भावको राजनीति देशभर फैलन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : २१ बजे