२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ ।

२१ वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता भएका तुलाचन अहिले परिवारको सम्पर्कमा आएका छन् । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उनका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताए ।

“हामी अहिले मंगला गाउँपालिका–५ पाखुमा बस्दै आएका छौँ । लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ । बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ”, कृष्णप्रसादले भने । कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुसियाली छाएको छ ।

धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी लिएर आएका छन् । तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : ४३ बजे