२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै



बैतडी । बैतडीमा दुई हजार ४५३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभर सञ्चालन हुँदै छ ।

जिल्लाका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालयबाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइने उनले बताए ।

गत वर्ष अभियानका रूपमा किशोरीहरूलाई एचपीभी खोप दिइएको थियो भने यो वर्ष नियमित खोपमा समावेश गरिएको खोप हो । बैतडीमा यो वर्ष कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६, गत वर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ६ किशोरी गरेर दुई हजार ४५३ जनालाई खोप दिइने जनाएको छ ।

गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो । यो वर्ष किशोरीहरूलाई एचपीभी खोप दिनका लागि स्थानीय तहहरूले आफ्नो पालिकामा तयारी भइरहेको र प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : ५० बजे