२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

निर्देशन दिएर, ठेकेदार तर्साएर विकास हुँदैन -गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु टुना’ शैलीले विकास सम्भव नहुने भन्दै उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको दूरावस्थालाई चित्रण गर्दै विकासको परम्परागत शैली अब काम नलाग्ने निष्कर्ष सुनाए । थापाले देशका ठूला आयोजनाहरू वर्षौँसम्म अलपत्र पर्ने र सहरका सडकहरूमा समन्वय अभावमा बारम्बार खन्ने पुर्ने काम भइरहने स्थितिलाई विकासको ‘कन्तबिजोग’ को संज्ञा दिए ।

सडक बनेलगत्तै खानेपानीले खन्ने, त्यसपछि ढल र फाइबरका लागि पुनः खन्ने प्रवृत्तिले लागत मात्र बढाएको भन्दै उनले यसबाट देशले ठुलो अपरच्युनिटी कस्ट गुमाइरहेको बताए। लामो समयदेखि संसद्, संसदीय समिति र मन्त्रालयमा रहँदा आफूले पूर्वाधार निर्माणमा देखिएका समस्यालाई नजिकबाट नियालेको उनले उल्लेख गरे।

‘हामीले बेलाबेलामा ठेकेदारलाई तर्साएर वा आयोजना स्थलमा पुगेर निर्देशन दिएर ताली त पाउँला, तर समस्याको समाधान हुँदैन,’ थापाले भने, ‘लक्षणमा मात्र काम गरेर हुँदैन, जरामा पुगेर उपचार गर्नुपर्छ।’

कानून नै बाधक, तीन दर्जन ऐन फेर्नुपर्ने

पूर्वाधार निर्माणमा ढिलासुस्ती हुनुको प्रमुख कारण पुरानो कानुनी संरचना रहेको थापाको ठम्याइ छ। ४८ वर्ष पुरानो सडक ऐन र २० वर्ष पुरानो सार्वजनिक खरिद ऐनले आजको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने उनले बताए।

आफ्नो अध्ययनले पूर्वाधार समयमै सम्पन्न गर्नका लागि करिब ३ दर्जन कानूनहरू संशोधन, परिमार्जन वा खारेज गर्नुपर्ने देखाएको उनले जानकारी दिए । कानून नफेरी बाहिर जति हल्ला गरे पनि परिणाम नआउने उनको जिकिर छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ३ : ४० बजे