काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको हल्ला फैलिरहेका बेला Salt Trading Corporationले देशभर पर्याप्त आपूर्ति भइरहेको स्पष्ट पारेको छ । कम्पनीले ग्यास नपाएको अवस्थामा सिधै साल्ट ट्रेडिङमा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गर्दै अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेको छ ।
कम्पनीका अनुसार काठमाडौं उपत्यकाका कालिमाटी बिक्री कक्षसहित सतुंगल, बनेपा, सिफल, बालाजु, कपन र इमाडोल लगायतका क्षेत्रका डिलरमार्फत नियमित रूपमा ग्यास वितरण भइरहेको छ ।
कालिमाटी केन्द्रमा मात्रै दैनिक करिब साढे ३ सय सिलिण्डर ग्यास बिक्री भइरहेको कम्पनीको तथ्यांक छ । अन्य आउटलेट र डिलरहरूबाट पनि दिनभरि नै निरन्तर रूपमा ग्यास वितरण भइरहेकाले उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था रहेको कम्पनीले जनाएको छ ।
भारतबाट ग्यासको आपूर्ति नियमित रूपमा भइरहेकाले हाल कुनै वास्तविक अभाव नरहेको कम्पनीको दाबी छ । तर बजारमा फैलिएको हल्ला र उपभोक्तामा देखिएको त्रासका कारण केही स्थानमा कृत्रिम अभाव सिर्जन गरिएको छ ।
कम्पनीका बजार प्रबन्धक प्रज्ज्वल प्रधानले पनि वितरण प्रणाली व्यवस्थित रहेको र कतै समस्या भए तत्काल समाधान गरिने बताएका छन् ।
“हामीले सबै डिलर र बिक्री केन्द्रहरूलाई पर्याप्त ग्यास उपलब्ध गराएका छौँ । कालिमाटी लगायत अन्य स्थानमा नियमित रूपमा ग्यास पुगिरहेको छ,” उनले भने, “यदि कतै ग्यास नपाउने अवस्था आयो भने त्यो अस्थायी व्यवस्थापन समस्या मात्र हो, अभाव होइन, “ग्यासको आपूर्ति नियमित छ, अभाव छैन । तर उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चय गर्न थाले कृत्रिम अभाव सिर्जना हुन्छ,” उनले भने, “त्यसैले सबैलाई आवश्यकताअनुसार मात्र खरिद गर्न अनुरोध गर्दछौँ ।”
उनका अनुसार उपभोक्ताले हतारमा धेरै ग्यास किन्ने प्रवृत्तिले नै बजारमा असन्तुलन ल्याउने भएकाले सचेत हुन आवश्यक छ ।
“हामी उपभोक्तालाई ढुक्क रहन आग्रह गर्छौँ । ग्यास पर्याप्त छ, सबैले पालोअनुसार पाउनुहुन्छ,” प्रधानले भने, “अनावश्यक सञ्चय नगरी सहयोग गर्नुभयो भने वितरण अझ सहज हुन्छ ।”
साल्ट ट्रेडिङले आगामी दिनमा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने, साथै, कुनै समस्या परेमा नजिकको बिक्री केन्द्र वा कम्पनीमा सम्पर्क गर्न पनि उपभोक्तालाई आग्रह गरिएको छ । सरकारले शुक्रबारदेखि आधा सिलिण्डर ग्यास बजारमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।











