३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सार्वजनिक ऋण पौने २८ खर्ब पुग्यो



काठमाडौं । कुल गार्हस्थ्य उपात्दन (जीडीपी)मा कुल सावर्जनिक ऋणको हिस्सा ४७.१३ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जीडीपीमा ऋणको हिस्सासमेत बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आवको सुरुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकामा फागुन मसान्तसम्म २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४७।१३ प्रतिशत हुन आउँछ ।

सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३।१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६।८४ प्रतिशत छ । कार्यालयका अनुसार, चालु आवको आठ महिनामै सरकारले दुई खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

कति भयो परिचालन ?

चालू आवमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा फागुन मसान्तसम्म दुई खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत छ, जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७।३१ र २४।३१ प्रतिशत छ ।

चालु आवमा ऋण सेवा खर्चमा चार खर्ब ११ अर्ब बजेट विनियोजन भएकामा फागुन मसान्तसम्म दुई खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनका आधारमा ५८.९४ प्रतिशत हो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ३५ बजे