८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सबै केन्द्रीय सदस्य सभापतिको राजीनामा अस्वीकृत गर्ने पक्षमा हुनुहुन्छ : प्रवक्ता चालिसे



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत रहेको बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । सबैले थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको प्रवक्ता चालिसेले जानकारी दिए ।

“हालसम्म ४६ जना केन्द्रीय सदस्यले बोलिरहँदा शतप्रतिशत साथीहरूले सभापतिको राजीनामा फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एकमत जाहेर गर्नुभएको छ । बैठकमा राजीनामालाई अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ,” उनले भने ।

उनका अनुसार, बैठक मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी दुई विषयमा केन्द्रित छ । बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक हाल पार्टी मुख्यालय सानेपामा जारी छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीले ठूलो पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा घोषणा गरेका थिए । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : १७ बजे