काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ)को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएका छन् ।
आइतबार (चैत ८) नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै पार्टी कार्यालय सानेपामा महामन्त्री घिमिरेले नेपालको इतिहासबाटै नेविसंघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुने बताए ।
मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरूको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेको उनको भनाइ छ । साथै, यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उल्लेख गरे ।
“नेविसंघलगायत अन्य भ्रातृ संस्थाहरूका विषयमा पार्टीले संस्थागत निर्णय गर्छ र अझ प्रभावकारी भूमिकाका साथ अगाडि बढाउन मार्गनिर्देश गर्छ,” उनले भने ।
०२७ सालमा पञ्चायती कालरात्रिविरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुनर्स्र्थापना गर्न नेविसंघको स्थापना भएको उनले स्मरण गरे ।
कतिपय सन्दर्भमा पार्टीभन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उनको भनाइ छ । पछिल्लो समय नेविसंघका गतिविधिलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको पनि बताए ।
नेपालमा ४० वर्षमुनिका झन्डै एक करोड २० लाख युवा जनमत रहेको तथ्यलाई औँल्याउँदै कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताए ।
“कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्नेकुरा पार्टीकै अधिकार क्षेत्रभित्रको कुरा हो । तर, संस्थाको हकमा पार्टीले दिएको आबद्धता, पार्टीको सन्तानजस्तै हो । नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुन जान्छ । यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न सक्दैन,” उनले भने ।
नेपाल तरुण दल, नेपाल महिला संघलगायत अन्य भ्रातृ संस्थाहरूका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।





