१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु



काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु गरिएको छ । वर्षात्‌ले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न सडक विभागले अर्थ मन्त्रालयसँग दुई अर्ब ३७ करोडको स्रोत सहमति लिएर काम अघि बढाएको हो ।

अर्थ मन्त्रालयको स्रोत सहमतिसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । एक अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

सडक स्तरोन्नतिअन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइने भण्डारीले जानकारी दिए । डबल लेनमा स्तरोन्नति गर्न आवश्यक संरचना निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखिम क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको भण्डारीले बताए । उनका अनुसार, हालसम्मको भौतिक प्रगति सात प्रतिशत रहेको छ ।

यता, निर्माणको जिम्मा भएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने कुनै अवरोध नआए समयमै निर्माण सम्पन्न हुने बताए । निर्माण कम्पनीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम थालिएको उनको भनाइ छ । आहिले संरचना निर्माणको काम धमाधम भइरहेको छ ।

निर्माण सामग्री र आयोजनामा कुनै अवरोध नभए समयभित्रै निर्माण सक्ने तयारी रहेको उप्रतीले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : २५ बजे