१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

दाउन्नेमा लेन अनुशासन कडाइ र ओभरलोडमा जरिवाना गर्न सिडियोको निर्देशन



नवलपरासी (पश्चिम) । निर्माणाधीन बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा सवारी आवागमन सहज बनाउँदै निर्माण कार्यलाई तीव्रता दिन पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सिडियो) दीपकराज नेपाल सक्रिय देखिनुभएको छ। उक्त क्षेत्रमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने समस्या रहँदै आएको छ।

पूर्व–पश्चिम राजमार्गको अत्यन्त संवेदनशील मानिने दाउन्ने खण्डअन्तर्गत दाउन्ने बजार, घिउखोला र विश्वकर्मा मन्दिर आसपास वर्षायाममा सडक हिलो र चिप्लो हुने हुँदा सवारीसाधन उकालो चढ्न नसकी बीचमै रोकिने समस्या बढेको छ। त्यसमाथि अव्यवस्थित ओभरटेक र लेन अनुशासनको अभावले बारम्बार सवारी जाम निम्त्याउँदै आएको छ।

विशेषगरी करिब सात किलोमिटर क्षेत्रमा हिलो, चिप्लोपन र खाल्डाखुल्डीका कारण दैनिक घण्टौँसम्म जाम, सवारी दुर्घटना तथा सवारी बिग्रिने समस्या देखिँदै आएको छ। विगत सात वर्षदेखि यात्रुले यस खण्डमा सास्ती खेप्दै आएका छन्।

नारायणगढ–बुटवल सडक योजना कार्यालय दाउन्ने पश्चिमका आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि, ट्राफिक प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिसहित अनुगमनमा पुग्नुभएका सिडियो नेपालले समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिनुभएको हो।

उहाँले लेन अनुशासन कडाइका साथ लागू गराउन, ओभरलोड सवारीसाधन नियन्त्रण गर्न तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो।

साथै, वर्षायाममा अत्यधिक चिप्लिने स्थानहरूमा तत्काल ग्राभेल हालेर आवागमन सहज बनाउन र निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गर्न थप जनशक्ति परिचालन गरी कामलाई तीव्रता दिन आयोजना प्रमुख र निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।

दाउन्ने खण्डमा ओभरलोड मालबाहक सवारीका कारण आवागमनमा समस्या बढेको भन्दै सिडियो नेपालले तिलकपुर धर्मकाँटामा अनुगमन गरी त्यस्ता सवारीलाई जरिवानासहित कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभयो।

यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि दाउन्नेको समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै लेन अनुशासन कडाइ, तत्काल रेस्क्यु सेवा र माइक्रिङको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ।

दाउन्ने खण्ड दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि सुस्त कार्यशैली र न्यून जनशक्तिका कारण लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ। सिडियो नेपालको सक्रियताले निर्माण कार्यमा गति आउने र यात्रुले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ।

दाउन्ने पश्चिम आयोजना प्रमुख पशुपति ज्ञवालीले वैशाख महिनाभित्र दाउन्ने खण्डको एकतर्फी निर्माण सम्पन्न हुने दाबी गर्नुभएको छ।

बुटवल–नारायणगढ सडक विस्तार तथा स्तरोन्नतिको काम साढे तीन वर्षभित्र, अर्थात् २०७९ साउनसम्म सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघ २४ गते सम्झौता गरिएको थियो। तर, तीन पटक म्याद थपिँदासमेत काम सम्पन्न नभएपछि चौथोपटक २०८३ साउन पहिलो सातासम्म म्याद थप गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : २८ बजे