१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् ।

निर्माण व्यवसायी महासंघको ६०औँ साधारणसभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणासभालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर सुरु भइसकेको जानकारी दिए । आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गर्दै ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोसन प्लान’ ९निजी क्षेत्र सुरक्षा तथा प्रवर्द्धन योजना०लाई ठूलो सफलताका रूपमा लिए ।

उनका अनुसार, वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

महासंघको आगामी निर्वाचनका उमेदवारहरूलाई लक्षित गर्दै अध्यक्ष ढकालले अर्काको आलोचना गरेर भन्दा पनि आफ्नो एजेन्डा र क्षमता प्रस्तुत गरेर भोट माग्न सुझाव दिए । उनले नेतृत्वमा पुग्नका लागि इमान्दार प्रयास र पवित्र भावना हुनुपर्ने बताउँदै कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे । कुनै ठूलो व्यावसायिक पृष्ठभूमि नभए पनि आफ्नो कडा मेहनत र इमान्दारिताकै कारण आफू महासंघको नेतृत्वमा पुग्न सफल भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : ४० बजे