१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

कृषि मन्त्रीको पहिलो निर्णय : ठूलो अलैंची र सुन्तला बालीलाई भौगोलिक सङ्केत (GI) का लागि छनोट



काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले पदबहाल गरेसँगै भौगोलिक सङ्केत (Geographical Indication–GI) प्राप्तिका लागि ठूलो अलैंची र सुन्तला बाली छनोट गर्ने पहिलो निर्णय गरेकी छन् ।

मन्त्रीको यो निर्णयसँगै नेपालका मौलिक तथा क्षेत्रीय पहिचान बोकेका कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्दै मूल्य अभिवृद्धि गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ। GI दर्ताले विशेष भौगोलिक क्षेत्रको विशेषता, गुणस्तर र पहिचानसँग जोडिएका उत्पादनलाई कानुनी संरक्षण प्रदान गर्ने गर्दछ।ठूलो अलैंची नेपालको प्रमुख नगदे बालीमध्ये एक हो, जसको उत्पादन विशेषगरी पूर्वी पहाडी जिल्लाहरूमा हुने गर्दछ। त्यस्तै सुन्तला पनि मध्यपहाडी क्षेत्रका किसानको आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको छ।सरकारले GI प्रणालीमार्फत स्थानीय उत्पादनको पहिचान स्थापित गर्दै किसानको आय वृद्धि, निर्यात प्रवर्द्धन तथा कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिएको जनाएको छ।

कृषि मन्त्रालयका अर्थविज्ञ डा.मणिरत्न अर्यालका अनुसार GI प्राप्त भएपछि नक्कली उत्पादनबाट जोगाउन, गुणस्तर सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको विश्वसनीयता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : १० बजे