२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा



रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार रुपैयाँ भित्रिएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।

त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार, यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् ।

पालिकाभर पाँच हजार ३०० रोपनीमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जमिनमा करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उनको भनाइ छ ।

प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल तीन हजार ५०० मा अदुवा बिक्री गरेका शाखा प्रमुख कार्कीले बताए । व्यापारी अदुवा खरिद गर्न गाउँमै आउने गरेका छन् । व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए ।

विगत २२ वर्षदेखि उनी निरन्तर अदुवा खेतीमा संलग्न छन् । यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल बीउका लागि राखेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ११ : ३२ बजे