काठमाडौ । तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।
कालीमाटीको थोक बजारमा व्यापार गर्ने गीताप्रसाद आचार्यले गत वर्षको तुलनामा तरकारीको मूल्य बढेको तर गत चैतको तुलनामा गोलभेँडा, लौका, घिरौँला, भिन्डीलगायतका तरकारी क्रमशः घट्न थालेको जानकारी दिनुभयो । बजारका थोक व्यापारी संस्थाका अध्यक्षसमेत रहेका आचार्यले हिउँदे तरकारीको सिजन सकिने, बर्खे तरकारीको सिजन सुरु भएकाले क्रमशः गत वर्षकै लयमा फर्किने दाबी गर्नुभयो । समितिका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेकोमा अहिले छरसात सय मेट्रिक टनमा सीमित हुँदा मूल्य बढेको छ ।
समितिका निर्देशक विनय श्रेष्ठले यो बेला हिउँदे तरकारीको सिजन सकिएको र नयाँ तरकारी आउने क्रममा रहेकाले मूल्यमा असर परेको बताउनुभयो । यद्यपि गत सातादेखि मकवानपुर, चितवन र केही तराईका जिल्लाबाट बर्खे तरकारी आउन थालिसकेको र अब क्रमशः घट्ने उहाँले बताउनुभयो ।
समितिका अनुसार यो समय कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्ला र तराईका सर्लाही, बारा, पर्साबाट आउने गर्छन् ।





