काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्यसबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएका हुन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई आमन्त्रण गरिएको छ।
बैठकमा सरकारले संसद छलेर अध्यादेश ल्याएको विषय, त्यसको राजनीतिक असर र प्रतिवाद रणनीतिबारे छलफल हुने बताइएको छ।
मंगलबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि अध्यादेश पुगेपछि मात्र सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो। यसप्रति विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले सरकारको कदमलाई अलोकतान्त्रिक र संसदको अपमान भएको टिप्पणी गर्नुभएको छ। उहाँले लोकतन्त्र, संविधान र जनअभिमतको मर्म मिच्न नदिने प्रतिबद्धता व्यक्त गरे।
सरकारले ल्याएका अध्यादेशप्रति विभिन्न विपक्षी दलहरूलेसमेत आपत्ति जनाउँदै आइरहेका छन् ।





