काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता इन्ट्री गर्न छुट भएका जिल्ला तथा क्षेत्रहरूलाई एक हप्ताको थप समय दिने निर्णय गरेको छ। बुधबार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले वैशाख १६ गतेदेखि लागू हुने गरी एक हप्तासम्म डिजिटल प्रणाली ९अनलाइन सिस्टम० खुला गर्ने निर्णय गरेको छ। यस अवधिमा नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कसहित विवरण प्रविष्ट नगरेका जिल्ला कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रहरूले आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। अनलाइन सदस्यता खुला गरिएको जानकारी पार्टीको आधिकारिक वेबसाइटमा समेत राखिने जनाइएको छ।
यसैगरी, बैठकले नेपाली नागरिकता भएका व्यक्तिका हकमा जनसम्पर्क समिति र पार्टीको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ भने अन्यको हकमा विधानबमोजिम हुने स्पष्ट पारेको छ।





