३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला



मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्यू पोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन्।

हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो।

सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए।

उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो।

अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए।

ुअप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन। हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौं। ४ घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,ु तामाङले भने।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ९ : ०७ बजे