१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति तथा कार्यक्रम ल्याउनुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए । यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

यस्तो छ राष्ट्रपति पौडेलको भनाइ ः

कृषि क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नु पर्दछ । १६औँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्दछ । यसमा लगानीको सुनिश्चितता गर्नं, सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ ।

मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ । विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिपको प्रयोग गर्ने गरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ । कृषकका उपजहरूको बजारीकरण, समयमा नै बीउविजन, मलको आपूर्ति कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नविनतम औजार र उपकरणको पहिचान र व्यवस्थापन, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषयहरू हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ३ : ५१ बजे