१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

प्रधानमन्त्रीले अभिब्यक्तिमा सर्वत्र बिरोध, माफी नमागेसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको निर्णय



काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्री शाहले नेपाल भारत सिमाका विषयमा दिएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै सभाको रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति सत्य हो भने स्पष्ट पार्नुपर्ने होइन भने संसदबाट नै माफी माग्नुपर्ने बताए ।

नेकपा एमालेका संसदीय दलको उपनेता पद्मा अर्यालले सार्वभौम सत्ता सम्पन्न संसदमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिले सिङ्गो नेपालको शिर झुकेको र नेपालीको स्वाभिमानप्रति आँच आएकाले प्रधानमन्त्रीले सदनबाटै माफी माग्नुपर्ने बताए ।

उहाँले बैठकले प्रतिनिधि सभाको आइतबारको बैठकको कामकारबाहीको समीक्षा गर्दै सभाको नियमावली सबैको अपनत्व हुनेगरी पास गर्नतिर नलागी प्रतिपक्षीहरूलाई पेलेर अगाडी बढ्नु दुखद भएको बताए।

प्रतिपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

बैठकमा सहभागी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले पनि प्रधानमन्त्रीले त्रुटिपूर्ण अभिव्यक्ति दिएकोले सच्याउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाको बैठक बसेको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : ४७ बजे