२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

१०० बिरुवा रोपेर कृषि विकास बैंकले मनायो विश्व वातावरण दिवस



काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा “सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण एवं प्रकृति जोगाऔँ, भविष्य बचाऔँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै कृषि विकास बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले बैंकले भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठान परिसरमा विभिन्न फलफूल जातका १०० वटा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको हो।

कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले वृक्षारोपण गरी गर्नुभएको थियो। सो अवसरमा उहाँले वातावरण संरक्षण केवल एक दिवसमा सीमित विषय नभई प्रत्येक व्यक्ति, संस्था र समुदायको साझा दायित्व भएको बताउनुभयो। प्रकृति र वातावरणको संरक्षणमार्फत मात्र भावी पुस्तालाई सुरक्षित र स्वस्थ जीवन प्रदान गर्न सकिने भएकाले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, मिनराज पोखरेल तथा सुशील हुँमागाईं, मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरू ध्रुव पौडेल र भोला नेपाल, केन्द्रीय तालिम प्रतिष्ठानकी निर्देशक सरिता दाहाललगायत बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न फलफूल तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवाहरू रोप्दै हरित वातावरण निर्माणमा योगदान पुर्‍याएका थिए।

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले वृक्षारोपण जस्ता अभियानले वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधताको संरक्षण गर्न तथा स्वच्छ र हरित समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, वन विनाश तथा वातावरणीय प्रदूषणका कारण प्रकृति संरक्षणको आवश्यकता झन् बढिरहेका बेला यस्ता कार्यक्रमले वातावरणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै संस्थागत तहबाट सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ९ : ३५ बजे