८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुखमा डा. धर्मराज उप्रेती नियुक्त,पदभार ग्रहण



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती ले पदभार ग्रहण गरेलगत्तै जाजरकोट भूकम्पपीडितका लागि महत्त्वपूर्ण निर्णय गरेका छन्।शुक्रबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा कार्यभार सम्हालेका उप्रेतीले जाजरकोट भूकम्पबाट प्रभावित १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका हुन्।

पदभार ग्रहणपछि उनले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत तथा विपद्पछिको पुनर्स्थापनालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। विगतमा भएका सकारात्मक प्रयासलाई निरन्तरता दिँदै पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकसम्म राहत र पुनर्स्थापनाका कामलाई छिटो पुर्‍याउने उनको भनाइ छ।

नयाँ नेतृत्वसँगै प्राधिकरणले विपद् व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। जोखिम न्यूनीकरणदेखि पुनर्निर्माणसम्मका कार्यक्रमलाई तीव्रता दिँदै प्रभावित समुदायको पुनःस्थापनामा केन्द्रित भएर काम गर्ने तयारी प्राधिकरणले गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १० : ०५ बजे