काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय संकटका बेला प्रधानमन्त्रीले सबै पक्षलाई एकताबद्ध बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सुनसरीमा देखिएको साम्प्रदायिक तनावका विषयमा सरकारको पहल पर्याप्त नभएको टिप्पणी गरे।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले यस्तो परिस्थितिमा व्यक्तिगत शैलीभन्दा माथि उठेर सबैको साझा प्रधानमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनका अनुसार संकटका बेला सरकारकै नेतृत्वमा संवाद र सहकार्यको वातावरण निर्माण हुन आवश्यक छ।
थापाले अहिले राजनीतिक दलका नेताहरूको आह्वानभन्दा धार्मिक अगुवाहरूको आह्वानलाई धेरैले स्वीकार गर्ने अवस्था देखिएको उल्लेख गर्दै त्यसलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सक्रिय पहल गर्नुपर्ने धारणा राखे।
उनले सर्वदलीय बैठकमा विभिन्न दलले आ(आफ्ना असन्तुष्टि व्यक्त गरे पनि समाधानका लागि सबैलाई एक ठाउँमा ल्याउने अवसर सरकारले प्रभावकारी रूपमा उपयोग गर्न नसकेको बताए।
थापाले सामान्य अवस्थामा प्रतिपक्षको भूमिका फरक भए पनि राष्ट्रिय संकटका बेला प्रतिपक्ष पनि सरकारकै सहयात्री हुने भन्दै समस्या समाधानका लागि सबै दलबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।





