कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।
गत शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार जङ्गल क्षेत्रमा मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला परेको हो । उनले प्रयोग गर्दै आएको मोटरसाइकल भने शनिबार नै फेला परेको थियो । मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेको थियो ।
६५ वर्षीय सिंह कपिलवस्तु नगरपालिका ३ स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किएका थिए । त्यसपछि चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रमा रहेको सिसिटिभी फुटेजमा उनी दिउँसो ३ः२७ बजे रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ ।
रामराज पुल पुगेपछि केही समयमै सिंहले आफूनिकट व्यक्तिलाई मोबाइल मार्फत आफू जङ्गलमा बाटो बिराएको जानकारी गराएका थिए ।





