२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित



काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकले ‘नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले सदनमा निर्णयार्थ प्रस्तुत गरेको उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
छलफलका क्रममा मन्त्री गौतमले देशको समग्र सुरक्षा र सबै खालका सूचना तथा अनुसन्धान प्रधानमन्त्रीसमक्ष पुग्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत नै राख्नुपर्ने सरकारको धारणा रहेको स्पष्ट पारेकी थिइन्।

विधेयकमाथिको छलफलमा सांसदहरू सृष्टि भट्टराई, ललिताकुमारी, गणेशबहादुर विश्वकर्मा, दीपककुमार शाह, शाहजान खातुन, यशोधाकुमारी बराल र साजिदा खातुन सिद्धिकीले भाग लिँदै आआफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ३६ बजे