२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

बीपी स्मृति दिवसमा महिला उद्यमशीलता सम्मेलन



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको सातौँ बैठकले आगामी भदौ ११ गते कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा नयाँ व्यवसाय तथा साना तथा मझौला उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीहरूको सहभागिता रहनेछ ।
महिला उद्यमीलाई साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा उद्यमशीलताका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
बैठकले बीपी स्मृति दिवसका अवसरमा गत साउन ६ गते आयोजित हरित दौड प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड आगामी भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्राविधिक कारणले यसअघि महिला दौडको विजेता घोषणा गर्न नसकिएको भन्दै पुनः दौड आयोजना गर्न लागिएको हो । यसमा यसअघि दर्ता भएका तथा नयाँ इच्छुक महिलासमेत सहभागी हुन सक्नेछन् ।

त्यस्तै, बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गरेको छ ।

उपसमितिको सहजीकरण कांग्रेस केन्द्रीय सदस्य डा। अमिता प्रधानले गर्नेछिन्

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १२ : १२ बजे