काठमाडौं — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
जेन–जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै आङदेम्बेले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति पनि सम्मान व्यक्त गरेका छन्।
आङदेम्बेले जेन–जी आन्दोलन भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्धको आवाज भएको उल्लेख गर्दै युवाहरूले सरकार परिवर्तन मात्र नभई सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी र अवसरसहितको नयाँ राजनीतिक संस्कार खोजेको बताएका छन्।
उनका अनुसार २३ भदौमा भएको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने तथा तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग र त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड तथा विध्वंसका कारण ठूलो जनधनको क्षति भएको थियो।
राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौको विध्वंसमा संलग्न पक्षमाथि कारबाही गर्न सिफारिस गरिसकेको भन्दै उनले उक्त प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्।
“घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ,” आङदेम्बेले भनेका छन्।
उनले २३ भदौको अत्यधिक बल प्रयोगमा जिम्मेवार व्यक्तिदेखि २४ भदौको आगजनी, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश र हिंसामा संलग्न व्यक्ति वा समूहसम्मलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने उनको भनाइ छ।
आङदेम्बेले वर्तमान सरकारलाई जेन–जीले खोजेको परिवर्तनको दिशामा अघि बढेको हो कि होइन भन्ने प्रश्नसमेत गरेका छन्। उनले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता, युवाका लागि रोजगारी, विदेश पलायन रोक्ने कार्यक्रम तथा सार्वजनिक पदमा हुने नियुक्तिमा योग्यता र पारदर्शिताबारे सरकारसँग जवाफ मागेका छन्।
“जेन–जीको बलिदानलाई सत्तामा पुग्ने भर्याङका रूपमा प्रयोग गरेर उनीहरूले उठाएका मूल प्रश्नलाई बेवास्ता गर्ने अधिकार वर्तमान सरकारलाई छैन,” उनले भनेका छन्।
सरकारले आफूलाई जेन–जी आन्दोलनको राजनीतिक उपलब्धिको प्रतिनिधि ठान्छ भने आफ्नो शासनशैली जेन–जीका मूल्य, मान्यता र अपेक्षासँग मेल खाने प्रमाणित गर्नुपर्ने आङदेम्बेको भनाइ छ। उनले आलोचनालाई शत्रुको बोली नठान्न, प्रश्न उठाउने नागरिकलाई दण्डित गर्ने प्रवृत्ति त्याग्न तथा राज्यलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन सरकारलाई आग्रह गरेका छन्।
आङदेम्बेले जेन–जी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभई नेपाली समाजको परिवर्तनको साझा आकांक्षा भएको बताएका छन्। उनले उक्त आकांक्षालाई सत्ता प्राप्तिको राजनीतिक उपलब्धिमा सीमित नगरी राज्यको नीति, शासन र व्यवहारमै रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
साथै, उनले आन्दोलनमा ज्यान गुमाएकाका परिवार तथा घाइतेहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।





