२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका निम्ति सडक खुलाउने तयारी



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ‘ग्रेड’ मिलाउने काम भइरहेकाले केही बेरमा खाली ग्यास बुलेट गुडाएर अवस्था परीक्षण गर्ने तयारी गरिएको हो ।

अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभीरमा स्थलगत निरीक्षणमा पुगेको छ । सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ ।

सडकको ग्रेड मिलाउने काम तीव्र पारिएको छ । दुई बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका निम्ति आवश्यक ‘प्लेटफर्म’ तयार गर्ने काम भइरहेको छ ।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । तत्कालका निम्ति अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ ।

मौसमले साथ दिएमा आजै ९भदौ २८० आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ । त्यसअघि, खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ ।

कृष्णभीरमा सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायत काम पूरा गर्नुपर्ने अवस्था छ ।

यही भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा बाटो अवरुद्ध छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ५ : ३१ बजे