२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

विपत्का बेला खाद्यान्न अभाव हुन नदिने साल्ट ट्रेडिङको तयारी, चिनी र नुन पर्याप्त



काठमाडौँ । प्राकृतिक विपत्, सडक अवरोध वा अन्य कुनै असहज परिस्थितिका कारण बजारमा अत्यावश्यक खाद्यवस्तुको कृत्रिम अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसनले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

कर्पोरेसनले विपत्का समयमा आपूर्ति प्रणाली प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नुन, चिनी लगायतका अत्यावश्यक वस्तुको ‘बफर स्टक’ कायम राख्दै आएको जनाएको हो। विशेषगरी मनसुनजन्य विपत्का कारण सडक तथा यातायात अवरुद्ध हुँदा काठमाडौँ उपत्यकासहित दुर्गम क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन मौज्दात व्यवस्थापन गरिएको कर्पोरेसनको भनाइ छ।

कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला बाढीपहिरोजस्ता संकटका समयमा समेत अत्यावश्यक खाद्य सामग्रीको आपूर्ति निरन्तर राखिएको बताए।

उनका अनुसार अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति समेत बढाइएको छ। करिब १० दिनभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउने गरी काम भइरहेको झाले जानकारी दिए।

चिनीको मौज्दात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको उनको भनाइ छ। थप आपूर्ति सुनिश्चित गर्न भारतबाट भन्सार छुटमा १० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए।

यस्तै, कर्पोरेसनको आफ्नै पहलमा ल्याउन लागिएको २ हजार ५ सय मेट्रिक टन चिनी वीरगन्ज भन्सारमा आइपुगेको झाले जानकारी दिए। आन्तरिक उद्योगबाट खरिद गरिने थप १२ हजार मेट्रिक टन चिनी पनि आउने क्रममा रहेकाले बजारमा चिनीको अभाव नहुने कर्पोरेसनको विश्वास छ।

यता, नुनतर्फ पनि तत्काल कुनै समस्या नरहेको कर्पोरेसनले जनाएको छ। झाका अनुसार कर्पोरेसनसँग आगामी सात महिनासम्म पुग्ने नुनको मौज्दात रहेको छ।

संकट वा विपत्का समयमा बजारमा अत्यावश्यक वस्तुको अभाव हुन नदिन बफर स्टक र वैकल्पिक आपूर्ति व्यवस्थालाई निरन्तरता दिइने कर्पोरेसनले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन सार्वजनिक–निजी साझेदारीको अवधारणामा सञ्चालन हुँदै आएको संस्था हो। आयोडिनयुक्त नुनको सहज तथा व्यवस्थित आपूर्ति गर्ने मुख्य उद्देश्यसहित स्थापना भएको कर्पोरेसनले हाल नुन र चिनीबाहेक दैनिक उपभोग्य वस्तु तथा कृषि सामग्रीको आपूर्तिमा समेत काम गर्दै आएको छ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ११ : ३२ बजे