६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

असोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना



काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन आग्रह गरेको छ ।

यसैगरी, मधेस प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको र उत्तः प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिसातिर सर्ने देखिन्छ ।

सोमबार राति कोशी प्रदेश लगायत देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

मङ्गलबार र बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : २९ बजे