१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी



काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएका विपद्सम्बन्धी विषयमा गठित संसदीय विशेष समितिको सभापति पदका लागि माननीय गणेश पराजुलीको एकल उम्मेदवारी दर्ता भएको छ।

समितिको सभापति चयनका लागि तोकिएको प्रक्रियाअनुसार पराजुलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। निर्धारित समयभित्र सभापति पदमा पराजुलीको मात्र उम्मेदवारी परेपछि उनी एकल उम्मेदवार बनेका छन्।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम, जलवायु न्यायको सवाल तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढी, पहिरोलगायतका विपद्बाट सिर्जित समस्या अध्ययन तथा समाधानका लागि समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

समितिले जलवायु परिवर्तनबाट हिमाली तथा जोखिमयुक्त क्षेत्रमा परेको प्रभावको अध्ययन, प्रभावित समुदायका समस्या पहिचान तथा राज्यका नीति र कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिन सक्नेछ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ५८ बजे