१५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026

मनाङसँगको सम्पर्क टुट्दा सामागाउँ र साम्दोमा खाद्यान्न अभावको जोखिम, बाटोमै रोकिए सयौँ पर्यटक



गोरखा । लगातारको वर्षासँगै आएको बाढीपहिरो र उच्च हिमाली क्षेत्रमा भएको भारी हिमपातले उत्तरी गोरखाको यातायात तथा जनजीवन प्रभावित भएको छ।

गोरखाको चुमनुब्री र धार्चे हुँदै मनाङ जोड्ने पाँच हजार १०६ मिटर उचाइको लार्के पासमा बाक्लो हिउँ जमेपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ। नाका अवरुद्ध भएपछि उत्तरी गोरखाका सामागाउँ र साम्दोमा खाद्यान्न अभाव हुन सक्ने चिन्ता बढेको छ भने पदयात्रामा रहेका सयौँ पर्यटक, गाइड र भरिया बाटोमै रोकिएका छन्।

वर्षायाममा तल्लो गोरखाबाट सामागाउँ र साम्दोसम्म खाद्यान्न ढुवानी गर्ने पदमार्ग बाढीपहिरोले क्षतिग्रस्त भएपछि स्थानीयले मनाङको भीमथाङ बजारबाट दैनिक उपभोग्य वस्तु ल्याउँदै आएका थिए। तर, लार्के पासमा अत्यधिक हिमपात भएपछि मनाङतर्फको वैकल्पिक बाटोसमेत बन्द हुँदा खाद्यान्न आपूर्तिमा थप समस्या देखिएको हो।

चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीय पेमा लामाका अनुसार खाद्यान्न लिन मनाङ गएका घोडा तथा खच्चड उतै रोकिएका छन्। मनाङबाट उत्तरी गोरखातर्फ आउँदै गरेका खच्चडसमेत बाटोमै अड्किएका छन्।

“वर्षाका कारण तल्लो क्षेत्रबाट सामान ल्याउन सकिएको थिएन। मनाङबाट खाद्यान्न ल्याएर गुजारा चलाइरहेका थियौँ। अहिले लार्केमा हिउँ थुप्रिएपछि त्यो बाटो पनि बन्द भएको छ,” लामाले भन्नुभयो, “छिट्टै बाटो खुलाउन नसके सामागाउँ र साम्दोमा खाद्यान्नको गम्भीर समस्या आउन सक्छ।”

चुमनुब्री गाउँपालिका–१ का वडाध्यक्ष कर्मा छेवाङ लामाले पनि मनास्लु पदमार्ग अवरुद्ध भएको अवस्थामा सामागाउँ र साम्दोमा खाद्यान्न पुर्‍याउने मुख्य विकल्प मनाङको बाटो रहेको बताउनुभयो। लार्के पासमा हिमपातपछि उक्त मार्गसमेत बन्द हुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री जुटाउन कठिन भएको उहाँको भनाइ छ।

तिब्बत र मनाङबाट खाद्यान्न ढुवानी गर्दा सस्तो पर्ने भएकाले स्थानीयले सोही क्षेत्रबाट खाद्यान्न ल्याउने गरेका छन्। तिब्बतको नाका निश्चित समयका लागि मात्र खुल्ने भएकाले नियमित खाद्यान्न आपूर्तिका लागि भीमथाङ मुख्य नाका रहेको वडाध्यक्ष लामाले बताउनुभयो। गोरखाको तल्लो क्षेत्रबाट खाद्यान्न ल्याउने सम्भावना झनै न्यून रहेको उहाँको भनाइ छ।

पदयात्रा मार्ग बन्द हुँदा पर्यटन व्यवसाय प्रभावित
मनास्लु क्षेत्रको मुख्य पदयात्रा सिजनमै लार्के पास अवरुद्ध भएपछि पर्यटन व्यवसायसमेत प्रभावित बनेको छ। मनास्लु, लार्के र चुम क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटक सामागाउँ र साम्दो आसपास रोकिएका छन्।

पदयात्रा मार्ग बन्द हुँदा पर्यटकसँगै उनीहरूका गाइड, पोर्टर तथा स्थानीय होटल व्यवसायीसमेत समस्यामा परेका छन्। पर्यटकको आवागमन रोकिँदा होटल तथा पर्यटनमा निर्भर स्थानीयको आम्दानीमा समेत असर परेको व्यवसायीले बताएका छन्।

स्थानीय निमा लामाका अनुसार पर्यटकीय चहलपहल हुने समयमा बाटो बन्द हुँदा पर्यटकको यात्रा अनिश्चित बनेको छ। मौसममा सुधार भई हिउँ हटाएर बाटो सञ्चालनमा नल्याएसम्म पर्यटक तथा स्थानीयको आवतजावत सहज हुने अवस्था छैन।

स्थानीय प्रयासले मात्रै हिउँ हटाउन कठिन
यसअघि सामान्य हिमपात हुँदा स्थानीय युवाले सामूहिक रूपमा हिउँ पन्छाएर पदमार्ग सञ्चालनमा ल्याउने गरेका थिए। तर, यसपटक लार्के पासमा बाक्लो हिउँ जमेका कारण स्थानीयस्तरबाट मात्रै बाटो खुलाउन कठिन भएको स्थानीयको भनाइ छ।

बाटो खुलाउन तथा सुरक्षित आवागमनको व्यवस्था मिलाउन स्थानीयवासी र व्यवसायीले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०, मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप०, चुमनुब्री गाउँपालिका र स्थानीय होटल व्यवसायी सङ्घलाई पत्राचार गर्दै आवश्यक पहलका लागि आग्रह गरेका छन्।

पुल बगाउँदा तल्लो क्षेत्रको आवागमन पनि जोखिमपूर्ण
उत्तरी गोरखाको समस्या लार्के पासमा मात्रै सीमित छैन। तल्लो क्षेत्रमा आएको बाढीले पदमार्गका विभिन्न पुल बगाएपछि घोडा तथा खच्चडमार्फत सामान ढुवानी गर्नसमेत कठिन भएको छ। कतिपय स्थानमा पैदलयात्री अस्थायी काठेपुलको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

एकातिर बाढीपहिरोले तल्लो क्षेत्रका पदमार्ग र पुलमा क्षति पुर्‍याएको छ भने अर्कोतर्फ उच्च क्षेत्रमा भएको हिमपातले मनाङ जोड्ने नाका बन्द गराएको छ। दुवैतर्फको आवागमन प्रभावित भएपछि उत्तरी गोरखाको खाद्यान्न आपूर्ति, पर्यटन र दैनिक जनजीवनमा थप संकट देखिएको छ।

स्थानीयवासीले सम्भावित खाद्यान्न अभाव रोक्न तत्काल बाटो खुलाउने, रोकिएका पर्यटकको सुरक्षित व्यवस्थापन गर्ने तथा आवश्यक उपभोग्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ११ : १२ बजे