११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

एनपिएलमा लुम्बिनी लाइन्सको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित



काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लाइन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य ९.५ ओभरमै तीन विकेट गुमाएर पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७।२ ओभरमा ८७ रनमै समेटिएको थियो। लुम्बिनीका बलर किशोर महतो र शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमको ब्याटिङ क्रमलाई दबाबमा राखे। दुवैले मिलेर सात विकेट लिएपछि सुदूरपश्चिमले ठूलो योगफल बनाउन सकेन।

शेर मल्लले विनोद भण्डारीलाई नौ रनमा आउट गर्दै प्रतियोगितामा आफ्नो टोलीका लागि विकेटको खाता खोलेका थिए। त्यसपछि किशोर महतोले आरिफ शेख र ब्रेन्डन म्याकमुलेनलाई आउट गर्दै सुदूरपश्चिमलाई थप दबाबमा पारे। किशोरले दोस्रो स्पेलमा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई लगातार बलमा बोल्ड गर्दै आफ्नो प्रभावशाली बलिङ प्रदर्शन जारी राखे।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १५ रनमा अविजित रहे। कमजोर ब्याटिङका कारण टोलीले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेन।

८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीका अस्ट्रेलियाली ब्याटर डार्सी सर्टले आक्रामक सुरुवात गरे। उनले १८ बलमा चार चौका र तीन छक्कासहित ४० रन बनाएपछि लुम्बिनीको जित सहज बनेको थियो। आसिफ शेखले पनि २५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए।

निरोशन डिकवेला सात रनमा आउट भएपछि लुम्बिनीले तेस्रो विकेट गुमाएको थियो। त्यसपछि समि हुसेन र रोहितले टोलीलाई जितसम्म पुर्‍याए।

गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। नयाँ सिजनको पहिलो खेलमै पुनः सुदूरपश्चिममाथि जित निकाल्दै लुम्बिनीले उपाधि रक्षा अभियान बलियो बनाएको छ।

एनपिएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार  ९ : २४ बजे