इलाम ।चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा। गोविन्द केसीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बस्नुभएका डा। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
इलाम अस्पतालका प्रमुख डा। अमिताभ ठाकुरको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आइतबार पत्रकार सम्मेलन गरी डा। केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।
टोलीले उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको, मुटुको धड्कनमा समस्या देखिएको र रगतमा ग्लुकोजको मात्रा घट्दै गएको जनाएको थियो ।स्वास्थ्य अवस्था बिग्रँदै गएपछि तत्काल हेलिकप्टरमार्फत उद्धारको व्यवस्था मिलाउन इलाम अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै आवश्यक पहलका लागि आग्रह गरेको थियो ।
डा। केसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । त्यहाँ उहाँको थप उपचार गरिनेछ ।
इलाम अस्पतालको चिकित्सक टोलीले निरन्तर स्वास्थ्य निगरानी र उपचार गरिरहे पनि थप उपचार आवश्यक देखिएपछि उहाँलाई काठमाडौं पठाइएको हो ।
१७ कार्तिक २०८३, सोमबार
250
Shares





