१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

रास्वपाको निर्णय हेरेर विवादित न्यायाधीशमाथि महाभियोगमा कांग्रेसले धारणा बनाउँछ : आङ्देम्बे



काठमाडौं । विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए ।

सोमबार (कात्तिक १६) सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि उनले गलत क्रियाकलापका विषयमा कांग्रेस गम्भीर र सचेत रहेको उल्लेख गरे । रास्वपाले यस विषयलाई कसरी संसद्मा प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने उनले स्पष्ट पारे ।

“।।।गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ,” उनले भने, “उहाँहरू ९रास्वपा०ले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसद्मा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यसानुसार हामीहरू आफ्ना धारणाहरू बनाएर हामीहरू अगाडि बढ्छौँ ।”

रास्वपाले बिचौलिया इनम सापकोटासँग ‘कनेक्सन’ रहेका न्यायाधीशमाथि महाभियोग लगाउने गरी छलफल अगाडि बढाएको छ । तर, रास्वपाले महाभियोगका बारेमा ठोस धारणा सार्वजानिक गरेको छैन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १ : ३३ बजे