२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै



काठमाडौँ। नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । काठमाडौँमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि कायम छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, मंगलबार  १२ : ५३ बजे