काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन भाइटीका पर्व आज देशभर हर्षोल्लासका साथ मनाइएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी तथा पञ्चरङ्गी टीका लगाइदिएर भाइटीका मनाएका हुन्।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई परम्पराअनुसार टीका तथा माला लगाइदिने र मिठामिठा परिकार खुवाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा रहेको छ।
भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने धार्मिक विश्वास छ। यस वर्ष साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो। यद्यपि दिनभर नै टीका लगाउन सकिने व्यवस्था रहेको समितिले स्पष्ट पारेको थियो।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका थिए। मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिएर ओखर, कटुस, मरमसला तथा सेलरोटीलगायत परिकार खुवाउने परम्परालाई निरन्तरता दिएका छन्।
वर्षाका कारण बालगोपालेश्वर मन्दिरमा भाइटीका प्रभावित
दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउने विशेष व्यवस्था गरिएको थियो। वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिरमा पूजा, दर्शन तथा टीका लगाउन बिहानैदेखि भक्तजन पुग्ने गरेका थिए।
तर वर्षाका कारण बालगोपालेश्वर मन्दिरमा टीका लगाउने कार्य केही बेर प्रभावित भएको थियो। वर्षाले गर्दा मन्दिरमा टीका लगाउन पुगेका भक्तजनलाई असहज भएको थियो। प्रतिकूल मौसमका बाबजुद पनि दिदीबहिनी तथा दाजुभाइ नहुने धेरै भक्तजन मन्दिर पुगेर टीका लगाएका थिए।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन तथा टीका लगाएका थिए। रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर विसं २०३५ पछि नियमित रूपमा भाइटीकाका दिन खुल्न थालेको हो। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर पुनर्निर्माणपछि २०७७ सालदेखि पुनः भक्तजनका लागि खुला गरिएको हो।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्छन्। नेवार समुदायमा कुल परम्पराअनुसार कसैले भाइटीकाकै दिन र कसैले अघिल्लो दिन किजापूजा गर्ने चलन छ। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा गरेका थिए।
यससँगै पाँच दिनसम्म मनाइने तिहार पर्व भाइटीका तथा किजापूजा सम्पन्न भएसँगै समापन भएको छ।












