काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आउँदो स्थानीय तह निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले शनिबार (मंसिर १२) आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका निम्ति पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन् ।
महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे । उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न पदमा पराजित उमेदवारलाई आउँदा दिनमा निर्वाचित हुने गरी काम गर्न आग्रह गरे ।
महामन्त्री पौडेलले भने, “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सधैँ अगाडि लाग्नुपर्छ ।”
उनले कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएको बताए । कांग्रेस शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको उनको भनाइ छ ।
बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेका उनले बताए ।
उनले पार्टीका स्थानीय तहका नेता–कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र न्यायका पक्षमा लड्न आग्रह गरे ।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तह निर्वाचनलक्षित गरी संगठन परिचालन गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो ।
यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो ।





