काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेका कारण गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने देखिन्छ। यी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। अर्कोतर्फ, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा भने तापक्रम बढ्न सक्ने सम्भावना पनि देखिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णालीको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ





