काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ । यसअघि निर्धारित समयभन्दा दुई दिनपछि अर्थात् २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गरिने भएको हो ।
नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको छ ।
वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसके पनि प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन केही स्थानमा सम्पन्न हुन बाँकी रहेको पार्टीले जनाएको छ ।
निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा असहज परिस्थितिका कारण प्रभावित निर्वाचन प्रक्रिया सम्पन्न गर्न आवश्यक समय उपलब्ध गराउने उद्देश्यले महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा आयोजना गरिने उल्लेख छ ।





