काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
प्रतिनिसभाको आजको बैठकमा समय लिएर नेता आङ्देम्बेले निर्वाचनबाट झण्डै दुई तिहाइको जनमत प्राप्त हुनु एक विशेष अवसर भए पनि त्यसअनुसार काम हुन नसकेको दाबी गरे । उहाँले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधनका विषयवस्तु आफैमा ठिक भए पनि भ्रमणमा जानुपूर्व र भ्रमणपछि संसद्लाई त्यसबारे जानकारी नदिएको गुनासो गरे ।
“संसद् लोकतन्त्रको अभ्यास र पाठशाला हो । प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था होइन, प्रतिपक्ष र सत्तापक्षबाटै प्रश्न आउँदा प्रधानमन्त्रीको सदनमा उपस्थिति हुनु आवश्यक हुन्छ । तर प्रधानमन्त्री सदनमा नआएर के काममा व्यस्त हुनुहुन्छ भन्ने संसद्लाई थाहा हुनुपर्छ”, आङ्देम्बेले भन्नुभयो,
उहाँले भन्नुभयो, “हामीले नयाँ पुस्तालाई संसदीय अभ्यास र लोकतन्त्रबारे के सिकाउन खोज्दै छौँ भन्ने कुरा मनन् गर्नुपर्छ । संसद् भनेको मन परेका बेला आउने र नपरेकाबेला नआउने थलो किमार्थ हुन सक्दैन । यो सत्तापक्ष र प्रतिपक्षको साझा थलो हो, यहाँ जनताका समस्या र समाधानका विषयमा प्रश्नोत्तर गरिन्छ । प्रश्नबाट भाग्ने शासन कमजोर सावित हुन्छ ।”
संसदीय लोकतन्त्र र संस्थागत संरचनालाई बलियो बनाई विधि र कानुनको शासन सञ्चालन गर्न आग्रह गर्दै नेता आङ्देम्बेले पूर्व प्रधानन्यायाधीशलाई हिरासतमा लिइएको घटनाका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
उहाँले विपद् व्यवस्थापन, उद्धार, राहत र पुनः निर्माणमा कार्यकुशलता प्रदर्शन नभएको तथा नजिकिएको चाडपर्वका समयमा बजारको महँगी र कालोबजारी नियन्त्रण हुन नसकेको आरोप लगाउँदै राष्ट्रिय दलका शीर्ष नेताहरूको परामर्शका आधारमा सरकारलाई दिइएको सुझावको सुनुवाइ नभएको भनी दुःख व्यक्त गरे ।
नेता आङ्देम्बेले २०८२ भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित प्रतिवेदन कार्यान्वयन गर्न, निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र विदेश नीतिमा राष्ट्रिय हितलाई निरन्तरता कायम राख्न आग्रह गरे । उनले प्रदेश र स्थानीय सरकारलाई शासनका प्रत्येक कार्यमा साझेदार बननुपर्ने र राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्दामा सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए ।





