३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कांग्रेसमा देखिएको तदर्थवाद र धार्मिक अस्पष्टता

आउँदो महासमिति बैठकमा यसबारे आधिकारिक दृष्टिकोण सार्वजनिक गरेन भने कांग्रेसले त्यसबाट ठूलो मूल्य चुकाउनुपर्नेछ



प्रजातन्त्र वाद, प्रतिवाद, संवाद, स्नेह, भ्रातृत्व र सम्झौतामा चल्छ । नेपाली प्रजातन्त्र विभेद र तिरस्कारको संस्कारमा हुर्किएको छ । राजनीतिमा ‘मोरल ग्राउन्ड’ त्यसकारण बाँकी रहेन । सुशासन र आर्थिक विकासले गति लिन नसक्नुको मूल कारण पनि यही बन्यो । दलीय व्यवस्थामा दलभन्दा व्यक्ति प्रभावी हुने संस्कृति राजनीतिको पहिचान बन्यो । व्यवस्था बदलिए पनि शक्ति सम्बन्ध बदलिएन । शक्ति सम्बन्ध कसको नियन्त्रणमा छ भन्ने ज्ञात रूपमा थाहा नहुँदा राजनीति मुलुकका पक्षमा हिंडिरहेको छैन ।

हो, पार्टी स्थापनाको मूल ध्येय हेर्दा मुलुक र नागरिकले नेपाली कांग्रेसबाट आशा गर्ने ठाउँ थियो तर त्यो आशाले मूर्त रूप पाउन सकेन । दासरूपी सलहहरूको समूह बनाई पार्टी कब्जा गर्ने संस्कृतिले मूल शक्तिको विवेकमाथि निरन्तर प्रहार हुँदै आयो । त्यो क्रम यद्यापि कायमै छ । त्यही विवेक अपहरण गरेर कम्युनिस्टका नाममा नेता हुन प्रतिस्पर्धा नै चलिरहेको छ । पार्टीको मूल जरोमै प्रहार हुँदा पनि कांग्रेसबाट ‘काउन्टर अट्याक्’ हुनसकेको छैन, गर्न खोज्नेलाई पनि प्रतिबन्ध लगाइएको छ । हो, यस्तै क्राइसिसमा चाहिने हो– ‘भिजनरी लिडर ।’ त्यो आउन सकेन, आउने कुनै संकेत पनि छैन ।

पार्टीको महासमिति बैठक पटक–पटक सर्दै र अनिश्चित हुँदै गर्दा पनि कांग्रेसबारे प्रजातन्त्रका पक्षधरहरू बीच निरन्तर बहस चलिरहेको छ । मुलुकमा प्रजातान्त्रिक संस्कार, सभ्यता, नैतिक मूल्य र मान्यताको बलियो जग खडा गर्ने मूल मन्त्र सहित ७५ वर्षअघि स्थापित यो पार्टी सत्ता, सत्ता अनि सत्ताको मोजमस्तीले सैद्धान्तिक रूपमा पूर्णतः स्खलित छ ।

राणाको पिंजडाबाट कष्टपूर्ण रूपमा फुत्किएर अंकुराएको पार्टी फेरि त्यही पिंजडामा कैद हुन पुगेको भन्दै विरोधका आवाज घन्किरहेका छन् । त्यसको विरोधमा बेला–बेला एकाध झिल्का निस्किए पनि आफैं स्वतः विलाएर गएका छन् । जीवनको उत्तरार्धमा रहेको गैंडाको खागरूपी नेतृत्वबाट इतिहासको त्यो विरासत बुझ्ने कोसिस भइरहेको छैन, सलहहरूको दबाबकै कारण । अझै पनि दासरूपी सलहहरूको एक्का भएर कथित कम्युनिस्टको जनवादी गीतमा प्रजातान्त्रिक समाजवादको सपना देखिरहेको छ ।

तदर्थवाद चलिरहन्छ, व्यक्तिगत रूपमा चलिरहन्छ तर त्यसले पार्टी सकिन्छ । पार्टी सकिनु भनेको मुलुककै लागि ठूलो नोक्सान हो । त्यसो त कांग्रेस मात्र होइन एजेन्डा निर्माण कुनै पार्टीले पनि गरिरहेका छैनन् । यसको पहिलो जिम्मा कांग्रेसले लिएन भने मुलुक गम्भीर अप्ठेरोमा पर्ने छ ।

हो, गुट र उपगुटको पक्षमा लाग्नेहरू एजेन्डामा आउन सक्दैनन्, एजेन्डामा आउँदा राजनीति सकिन्छ किनकि जनाधार नहुनेहरू गुट, उपगुटको छहारीमा रमाउँछन् । एजेन्डामा आउँदा जनमत बलियो हुनेहरू नेतृत्वमा अगाडि आउँछन् भन्ने चिन्ता नेतृत्वलाई घेरा हालेर बस्नेहरूलाई छ । यसबाट बाहिर निस्कन नसक्ने वा नचाहने हो भने आफ्नो राजनीति मात्र होइन पार्टी नै सकिनेछ । पार्टीको भविष्य जोगाउन पनि नयाँको भूमिकालाई सम्मान सहित ठाउँ दिन सक्नुपर्छ । नेतृत्वमा देखिएको पारिवारिक विरासतको कल्पना पार्टी समाप्त पार्ने अस्त्रमा परिणत हुनसक्छ, यस्तो अवस्थामा पदाधिकारी थप्ने खेल खेलाइनु आफैंमा कांग्रेसका लागि घातक छ ।

झन् राष्ट्रिय सभा निर्वाचन नजिकिंदै गर्दा जनताबाट पटक–पटक बहिष्कृत अनुहारहरूमा देखिएको चमकधमक र भ्रष्टाचारको अभियोग लाग्नेहरूलाई चोख्याउने खेलले कांग्रेसको ओरालो यात्राको संकेत गरिरहेको छ । यसबाट पार्टीलाई जोगाउन नेतृत्वले विवेक प्रयोग गरेन भने ‘समुदायमा कांग्रेस’ अभियान फलदायी नहुन सक्छ ।

धर्मबारे कांग्रेसको दृष्टिकोण माग

नागरिकले यतिबेला धर्मबारे कांग्रेसको आधिकारिक दृष्टिकोण चाहिरहेका छन् । कांग्रेस धर्मनिरपेक्ष पक्षधर हो कि सापेक्ष ? आउँदो महासमिति बैठकमा यसबारे आधिकारिक दृष्टिकोण सार्वजनिक गरेन भने कांग्रेसले त्यसबाट ठूलो मूल्य चुकाउनुपर्नेछ ।

पार्टीका संस्थापक नेता बीपी कोइरालाले स्पष्ट भनेका छन्, ‘राज्यको धर्म हुँदैन ।’ कांग्रेसको आधिकारिक दृष्टिकोण बीपी पथ हो कि होइन ? हो, बीपीले भने झैं राज्यको धर्म हुँदैन । व्यक्ति धर्मबारे स्वतन्त्र छ । आफूलाई कांग्रेस हुँ भन्नेहरूले जुनसुकै धर्म मान्न सक्छन्, त्यो उसको व्यक्तिगत स्वतन्त्रता हो तर नागरिकका माझमा जाँदा उसले पार्टीको आधिकारिक दृष्टिकोण बोल्नुपर्छ । दोधारे चरित्रले नागरिकको मन र मत जित्न सकिन्न ।

धर्मनिरपेक्ष पक्षधर नास्तिक र सापेक्ष भन्नेहरू आस्तिक हुन्छन् भन्ने नेपाली मनोविज्ञान छ । व्यक्ति नास्तिक वा आस्तिक दुवै हुन पाउँछ तर आम नागरिकको विश्वास आर्जन गर्न कांग्रेस धर्मबारे स्पष्ट हुनुपर्छ । संविधानमा जे लेखिए पनि यतिबेला फेरि मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्नेहरूको बाहुल्य बढ्दै गएको छ ।

छिमेकी मुलुक भारतमा हिन्दु बाहुल्य पार्टीको सरकार छ । निर्वाचन नजिकिंदै गर्दा त्यहाँ पनि हिन्दुत्वको मुद्दा चर्को रूपमा हावी भइरहेको छ, नेपालमा पनि त्यसको प्रभाव बढ्दो छ । हिन्दुत्वको मुद्दालाई पूँजीकृत गर्ने कोसिस यहाँ पनि भइरहेको छ । यो मुद्दामा कांग्रेस र एमाले कार्यकर्ताको बढ्दो समर्थन र झुकाव देखिंदैछ । यो संघीय गणतन्त्रको राजनीतिलाई ठूलो चुनौती हो । यो चुनौतीको सामना गर्न पनि लामो विरासत बोकेको कांग्रेसले धर्मको बारेमा आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न आवश्यक छ ।

भारतको संस्थापनसँग नजिक हुन हिन्दुराष्ट्र पक्षधर हुन खोज्ने र अमेरिका नचिढियोस् भनेर धर्मनिरपेक्षताका पक्षमा उभिने दोहोरो चरित्रले सिद्धान्त स्खलित भए पनि नागरिक तहमा समर्थन जारी रहेको कांग्रेसको ऐतिहासिक एवं लोकतान्त्रिक छवि झनै धुमिल हुनेछ । आफ्नो कित्तामा स्पष्ट भएन भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।
बीपीले तत्कालीन परिस्थितिमा अंगीकार गरेको बाटो हिंड्ने हो भने, राज्यको धर्म हुँदैन, कांग्रेस कुनै धर्मको पक्षमा उभिंदैन भन्न सक्नुपर्‍यो । कांग्रेसलाई मतदान गर्दै आएका अधिकांश नागरिक हिन्दुत्वको पक्षमा छन् । उनीहरूलाई के भनेर चित्त बुझाउने ? यसमा पार्टीको स्पष्ट धारणा बनेन भने अबको निर्वाचनमा त्यसको ठूलो प्रभाव पर्नेछ । अब पनि ढिला गरे अरूले उछिन्नेछन् ।

छिमेकी मुलुक भारतमा हिन्दुबाहुल्य पार्टीको सरकार छ । निर्वाचन नजिकिंदै गर्दा त्यहाँ पनि हिन्दुत्वको मुद्दा चर्को रूपमा हावी भइरहेको छ । भारतमा नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री हुने दौडमा छन् । मोदीले तेस्रो कार्यकालका लागि पनि हिन्दुत्वको मुद्दा सहित जित्दैछन् भन्ने आकलन छ । जिते भने उनी खुलेरै म हिन्दु हुँ भनेर हिंड्छन् । सरकारको नेतृत्व गरिरहेको व्यक्तिका लागि त्यो नारा हितकर र राम्रो नहोला तर स्पष्ट विचार नलिई अगाडि बढ्न सकिंदैन भन्ने कुरा उनले बुझेका छन् । त्यसैले पनि हिन्दुकै नाममा उनले जित्नेछन्, किनकि त्यहाँ पनि मतदाता अल्मलिएको अवस्था छ ।

यहाँ पनि कांग्रेसका सभापतिदेखि सबै शीर्षनेता भाषणमा हिन्दु राष्ट्रका पक्षमा खुलेर लागेको देखिन्छ तर पार्टीको आधिकारिक दृष्टिकोण तय गर्न सशंकित छन् । सत्ता, सत्ता अनि सत्ताको लिसो त्यसमा बाधक बन्दै आएको छ । हिन्दु राष्ट्र पनि चाहने, धर्मनिरपेक्षताको विरोधी पनि हुन नसक्ने दोहोरो चरित्र विद्यमान छ ।

भारतको संस्थापनसँग नजिक हुन हिन्दुराष्ट्र पक्षधर हुन खोज्ने र अमेरिका नचिढियोस् भनेर धर्मनिरपेक्षताका पक्षमा उभिने दोहोरो चरित्रले सिद्धान्त स्खलित भए पनि नागरिक तहमा समर्थन जारी रहेको कांग्रेसको ऐतिहासिक एवं लोकतान्त्रिक छवि झनै धुमिल हुनेछ । आफ्नो कित्तामा स्पष्ट भएन भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ४० बजे