१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर



म्याग्दी । दिनभर भेडाबाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थिए।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जंगल, बुकी र खर्कमा भेटिन्छन्। उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन्। हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्‍याइन्छ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जंगलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उनले बताए। मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ। घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ। मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजंगल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्‍याएको उनले बताए।

‘वैशाख–जेठसम्म्म अब बेंसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौं, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौं,’ उनले भने।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताए।

‘पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैंसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ,’ उनले भने।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन्।
‘मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ,’ उनी भन्छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : १७ बजे