९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु



संखुवासभा । संखुवासभास्थित विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधारशिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए ।

यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ ।

पर्वतारोही शेर्पाको शव मुचुल्कापछि शनिबार सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : ३१ बजे