९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सुरक्षण मुद्रणमा ४० करोड भ्रष्टाचार, कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा



काठमाडौँ । । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई ९मेकानिकल० नवीनकुमार पोखरेलले आपसी मिलेमतो तथा योजनामा सुरक्षण मुद्रण सम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम सुरक्षण मुद्रण विकास समितिबाट स्वीकृत गराउनुपर्नेमा समितिमा पेस नगरी आफैँले दुई वटा छुट्टाछुट्टै कार्यक्रमको लागि बजेट माग गरेका थिए।

उनीहरूले पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एण्ड हार्डवेयर एण्ड रिलेटेड इक्विप्मेन्टस् अन्तर्गत एउटा मात्र प्रिन्टिङ प्रेस खरिद गर्नुपर्नेमा आवश्यकताभन्दा बढी दुई वटा प्रिन्टिङ प्रेस खरिद गरेको, कम क्षमताको डाई कटिङ मेसिन खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारण बिना २० गुणा बढी क्षमताको आवश्यकता नै नदेखिएको मेसिन खरिद तथा प्रिन्ट प्रडक्सन सिस्टम सञ्चालनको लागि अमिल्दो र अनावश्यक क्रिटिकल आइटी सिस्टम समेत यसै ठेक्कामार्फत खरिद गरी, गराइ नेपाल सरकारलाई सो रकम हानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिबल्लभ घिमिरे र म्याक्स यन्टरनेशनल तथा उक्त कम्पनीको सिइओ अकबर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम बिगो रकम ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ असुल उपर हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपत्रप दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ५९ बजे